नियम ३०
मतपत्र दिने
 (१) मतदान केन्द्रमा मतदाता प्रवेश गरेपछि मतदान अधिकृत वा निजले खटाएको कर्मचारीले त्यस्तो मतदाता सङ्घीय संसदको सदस्य वा प्रदेश सभाको सदस्यमा निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र हेरी निजको नाम मतदाता नामावलीमा भिडाई मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा विश्वस्त भएमा निजलाई मतदान गर्न मतपत्र दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम जाँच गर्दा कुनै मतदाताको विवरणमा लेखाई वा छपाईको सानोतिनो भूलचूक देखिए तापनि मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति निज नै हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा त्यस्तो मतदातालाई मतदान गर्न मतपत्र दिनु पर्नेछ । (३) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतदान गर्न मतपत्र दिनु अघि मतदान अधिकृतले त्यस्तो मतपत्रमा दस्तखत गर्नु पर्नेछ । (४) उपनियम (१) वा (२) बमोजिम मतदातालाई मतपत्र दिएपछि मतदाता नामावलीमा निजले मतदान गरेको व्यहोरा जनिने सङ्केत गर्नु पर्नेछ । (५) उपनियम (४) बमोजिम मतदाता नामावलीमा सङ्केत जनाई सकेपछि मतपत्रको अधकट्टीमा मतदाताको सहीछाप गराई मतदातालाई मतपत्र दिनु पर्नेछ । (६) यस नियम बमोजिम मतदातालाई मतपत्र दिनु अघि आयोगले तोके बमोजिम निजको औंलामा नमिटिने मसी लगाई दिनु पर्नेछ ।